‘लाल्टिन’ प्रमोशनमा छैनन् दया र प्रियंका, स्टारडमको घमण्डकी समयको अभाव

loading...

एक करोड बढी लगानी गरिएको बताईएको चलचित्र ‘लाल्टिन’ को रिलिज मिति नजिकिदै गएको छ। जेठ २६ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको प्रमोशन यतिबेला शुन्य बराबरको नै रहेको छ। केहि नयाँ कलाकार बाहेक कोहि पनि चलचित्र प्रमोशनमा देखिएका छैनन्।

दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रमा केकी अधिकारी, ए गुरुङ लगायतका कलाकारको समेत अभिनय रहेको छ। तर रिलिज मिति नजिकिदै गर्दा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र प्रियंका कार्की भने चलचित्रको प्रचारप्रसारमा देखिएका छैनन्।

चलचित्र निर्माताको आशा सधै चलचित्रमा स्टार मानिएका कलाकारले आफ्नो चलचित्र प्रमोशनमा साथ दियोस् भन्ने हुन्छ।
अझ पछिल्लो समयका दुई चर्चित अभिनेता र अभिनेत्रीलाई महँगो रकम खर्चिएर चलचित्रमा अभिनय गराएको निर्माण टिमलाई त झन् बढी आशा ती कलाकारबाट हुने गर्दछ।

तर ‘लाल्टिन’ बल्ने मिति नजिकिदै गर्दा दया र प्रियंका भने यसको टिमबाट टाढा रहेका छन्। दयाहाङ राई ‘मिस्टर झोले’ को छायाँकन संगै पत्नी र छोरा संग कहिले भोजपुर र कहिले पोखर घुम्नमा व्यस्त छन् भने प्रियंका एकपछी अर्को चलचित्रको छायाँकानमा व्यस्त छिन्। प्रियंका यतिबेला ‘छक्का पन्जा २’ र ‘फाटेको जुत्ता’ को छायाँकानमा व्यस्त रहेकी छिन्।

आफुले अभिनय गरेको चलचित्रको प्रमोशनमा हिड्नु सवै कलाकारको दायित्व नै हुने गर्दछ। तर पछिल्लो समय स्टार मानिएका कलाकारहरुले भने चलचित्रको प्रमोशनलाई महत्व नदिएको देखिन्छ।
निर्माण पक्षसंग महँगो पारिश्रमिक लिने तर चलचित्र प्रमोशनमा भने खासै वास्ता नगर्ने कलाकारको बढ्दो प्रवृतिले कलाकार र चलचित्र दुवैलाई घाटा हुने देखिन्छ।

त्यस्तो त नेपाली चलचित्र क्षेत्रमा दयाहाङ राई र प्रियंका कार्कीको क्यामेष्ट्री निकै रुचाउने गरिन्छ। दुवैको निकै लामो समयपछी एकसाथ चलचित्र आउने तयारीमा रहेको छ। त्यसैले पनि दुवैले चलचित्र प्रमोशनमा साथ दिएको भए निर्माण टिमलाई अझ बढी फाईदा हुनेथ्यो।

अब लाल्टिन प्रमोशनमा दया र प्रियंकाको अनुपस्थिति दुवैको स्टारडमको घमण्ड हो अथवा समयको अभाव त्यो भने यी दूईलाई नै थाह होला?

Comments

comments