बर्ष समिक्षा: नेपाली चलचित्रको लागि बर्ष २०७३

loading...

बर्ष २०७३ सकिएर २०७४ सुरुवात हुन एक हप्ता भन्दा कम समय रहेको छ। करिव सात दिनमात्रै बाँकी रहंदा हरेकले बर्षको समिक्षा सुरु गरेका छन्। सकारात्मक र नकारात्मक दुवै हिसाबले बर्ष सधै चर्चामा रह्यो। अन्य क्षेत्र जस्तै नेपाली चलचित्र क्षेत्रले पनि धेरै उतारचढाव देख्यो। तर बर्ष २०७३ नेपाली चलचित्र क्षेत्रको लागि त्यति धेरै सफल रहन सकेन। करिव ७ दर्जन बढी चलचित्र रिलिज भए पनि एक दर्जन चलचित्रले मात्रै सम्झना योग्य व्यापार गरे।
बर्षको सर्वाधिक सफल चलचित्रको रुपमा ‘छक्का पन्जा’ रह्यो। चलचित्रले १६ करोड बढीको ग्रस कलेक्सन गर्यो। यसको अलावा ‘जात्रा’ ‘वीर विक्रम’, ‘लुट २’ ,’पुरानो डुंगा’ लगायतका चलचित्रले राम्रो कमाई गर्न सफल भए। आज हामी बर्ष २०७३ मा सफल भएका केहि चलचित्रको बारेमा चर्चा गर्न लागिरहेका छौ।

१.छक्का पन्जा
बर्ष २०७३ को सर्वाधिक सफल चलचित्र हो, छक्का पन्जा। भदौ २४ गते रिलिज भएको चलचित्रले नेपाली चलचित्रको ईतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्र मात्रै बनेन मल्टीपेल्क्समा सर्वाधिक कमाई गर्ने चलचित्र समेत बन्यो। १६ करोड माथिको ग्रस कलेक्सन गरेको चलचित्र बर्षको सर्वाधिक सफल चलचित्र हो। दिपाश्री निरौलाको डेव्यु निर्देशन रहेको चलचित्र देशभरका ८० बढी हलमा एकसाथ रिलिज भएको थियो।

२. लुट २
चलचित्र ‘लुट २’ ले ८ करोड भन्दा माथिको ग्रास कलेक्सन गरेको बताइएको छ पहिलो दिनमा नै १ करोड माथिको कलेक्सन गरेको निश्चल बस्नेत निर्देशित चलचित्रले त्यति राम्रो प्रतिक्रिया भने बटुल्न सफल भएको थिएन। फाल्गुन १३ गते रिलिज भएको चलचित्र देशभरका करिव सय हलमा एकसाथ प्रदर्शन भएको थियो।

३. गाजलु
युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल शृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘गाजलु’ जेठ २८ गते रिलिज भएको थियो। बर्षको पहिलो सफल चलचित्र बनेको ‘गाजलु’ ले चार करोड भन्दा माथिको कमाई गर्न सफल भएको थियो। चलचित्र हेमराज बिसिको निर्देशनमा तयार भएको थियो।

४. जात्रा
समिक्षक र व्यापारिक दुवै हिसावले सफल बनेको चलचित्र हो, जात्रा। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रले तीन करोड माथिको ग्रास कलेक्सन गर्न सफल भएको थियो। सिनेमा हलमा ५१ दिन मनाउन सफल चलचित्रमा बर्षा राउत, विपिन कार्की, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको थियो।

५.लप्पन छप्पन
बर्षको अन्त्य तीर रिलिज भएको चलचित्र पनि व्यावसायिक हिसाबले सफल बनेको छ। करोड भन्दा माथिको कमाई गर्न सफल चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन्। बर्षा शिवाकोटी, दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको थियो।

६. वीर विक्रम
भदौ २ गते रिलिज भएको मिलन चाम्स निर्देशित चलचित्र पनि यो बर्षको सफल चलचित्रमा रह्यो। करोड भन्दा माथिको कमाई गर्न सफल भएको चलचित्रमा दिया पुन, दयाहाङ राई, नाजिर हुसेन लगायतका कलाकारको अभिनय रहेको छ।

७. चपली हाइट २
दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रले तीन करोड बढीको ग्रास कलेक्सन गर्न सफल भएको बताइएको छ। चलचित्रमा मरिश्का पोख्रेल र आयुष्मन देशराज जोशी मुख्य भूमिकामा रहेका छन्।

Comments

comments