युवास्टारमा पारिश्रमिकको होडबाजी, यथार्थ कि प्रचारशैली

loading...

पछिल्लो समय युवापुस्ताका अभिनेताहरुले आफ्नो क्रेज गज्जबले नै बनाएका छन् । युवा अभिनेता अनमोल केसी, आयुष्मान देशराज जोशी, प्रदिप खड्का, पल शाह लगायतका अभिनेताले गज्जबको फ्यान फलोईङ बनाएका छन् । कोहिले आफ्नो लुक्स त कोहिले आफ्नो अभिनयको कारण चर्चा कमाएका छन् ।

युवास्टारहरुको उदय भएसंगै उनीहरुको पारिश्रमिकको पनि चर्चा चुलिने गर्दछ । छायाँकानको क्रममा रहेको चलचित्र ‘कृ’ को लागि अनमोलले २० लाख पारिश्रमिक लिएको चर्चाले चल्यो । नेपालमा स्टार मानिएका कलाकारहरु ६-७ लाख पारिश्रमिकमा चलचित्रमा काम गरिरहेको बेला अनमोलको उक्त पारिश्रमिकले निकै राम्रो बजार तताएको थिए ।

त्यस्तै अर्का अभिनेता आयुष्मान देशराज जोशीले एक निर्मातालाई १० लाख पारिश्रमिक मागेको चर्चा चल्यो । ‘चपली हाइट २’ चलचित्र रिलिज पश्चात उनलाई गरिएको एक अफरमा उनले निर्माता संग उक्त रकम मागेको खबर बाहिरिएको थियो । उनले म्युजिक भिडियोको लागि पनि चर्को पारिश्रमिक लिने गरेको खबर बाहिरिदै आएको छ ।

त्यस्तै ‘ग्यांगस्टार ब्लुज’ डेव्यु अभिनेता आशिरमान देशराज जोशी चलचित्र ‘ब्रेकअप’ मा १५ लाखमा अनुबन्धित भएको खबर बाहिरिएको छ । निर्माण टिमले उनलाई उक्त रकम दिएको दावी गरेको छ । हेमराज बिसी निर्देशित चलचित्र बाट नै डेव्यु गरेका आशिरमानलाई किन मोटो रकम दिईयो भन्ने कुरा स्वयम् निर्माण टिमलाई नै थाह होला । आशिरमानको काम न दर्शकले देख्न पाएका छन् न उनको क्रेज नै दर्शक माझ त्यस्तो बढी रहेको छ । उनलाई किन र केका लागि यति मोटो रकम खर्चियो भन्ने कुरा यतिबेला चासोको बिषय बनेको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’ को लागि अभिनेता प्रदिप खड्कालाई ८ लाख रकम दिएको निर्माता सन्तोष सेन बताउदै आएका छन् । ‘प्रेमगीत’ को लागि २ लाख दिएको बताउने सेनले आफ्नै चलचित्रको लागि प्रदीपले अरु कुनै चलचित्रमा काम नगरेको र उसको मिहेनत हेरेर आफुले उसलाई ८ लाख दिन तयार भएको निर्माता सेन बताउछन् ।

अभिनेता नाजिर हुसेनले केहि समय अगाडी एक चलचित्रको लागि ५ लाख पारिश्रमिक मागेको कारण उनलाई चलचित्रमा लिन नासकिएको एक चलचित्र निर्माताले बताएका थिए ।

पछिल्लो समय युवापुस्तामाझ नेपाली कलाकारको निकै राम्रो क्रेज बन्दै आएको छ । युवास्टार बनेका कलाकारहरुलाई लिएर चलचित्र निर्माण गर्न धेरै निर्माता निर्देशकहरु लालायित हुने गर्दछन् । तर कतिले चर्को पारिश्रमिक माग्ने गरेको कारण नै उनीहरुलाई चलचित्रमा लिन नसकिएको निर्माण टिम बताउने गर्दछन् ।

तर केहि कलाकार र यो संग सम्बन्धित व्यक्ती भने बाहिर बताइएअनुसारको पारिश्रमिक नहुने बताउछन् । चलचित्रको प्रचार गर्नको लागि र महँगो बजेटमा आफुले चलचित्र बनाएको जनाउन पनि निर्माताहरुले यस्तो हल्ला फिजाउने गरेको समेत चर्चा चलाईन्छ ।

Comments

comments